
मिरिक ७ जुलाई (निसं) यसपालीको जीटीए चुनाउमा मिरिक थर्बु डुप्टिन २४ नम्बर समष्टिबाट विजय हासिल गरेका उम्मेद्वार तथा नव निर्वाचित सभासद मिलेश राईलाई आज यहाँको कृष्णनगरस्थित चुनाउ कार्यलयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टिका नारी शक्ति अनि युवा शक्तिले खदा माला पहिराएर बधाई तथा शुभकामना प्रकट गरे। यसक्रममा पत्रकारहरूसँग कुरा गर्दै समष्टि नारी शक्ति अध्यक्ष किरण सुब्बा भुटियाले भनिन्, मिलेश राईले चुनाउमा विजय हासिल गरे तापनि मणिपुरको नौनी जिल्लामा भारतीय सेनाहरूको निधन भएको कारण शोक परेको हुँदा उनलाई बधाई दिन सकिरहेका थिएनौ। यसैले आज एक सामान्य कार्यक्रमबीच नै उनलाई हामीले जीतको निम्ति बधाई दिएका छौ भने आगामी दिनका लागि शुभकामना पनि दिएका छौ। यता भागोप्रमो समष्टि सदस्य ओमकार सुब्बाले चुनाउमा जीत हासिल गरेका मिलेश राईले आगामी पाँच वर्षमा धेरै विकासमूलक कार्यहरू गर्ने कुरोमा आफूहरू विश्वस्त रहेको बताउदै राईले विगतमा पनि धेरै कार्यहरू गर्दै आएको र उनले भविष्यमा पनि यस्ता धेरै सकरात्मक कार्यहरू गर्ने विश्वास गरेर नै चुनाउमा भारी मतले विजय हासिल गराएको बताए। यसक्रममा नव निर्वाचित सभासद मिलेश राईले आफूलाई विजय बनाएकोमा समष्टिका सम्पूर्ण जनसाधारणलाई आभार प्रकट गर्दै यो जीत आफ्नो एकल जीत नरहेर समष्टिवासीको जीत रहेको बताए। उनले आगामी दिनमा बेरोजगार, यातायात, शिक्षा, स्वास्थ अनि समष्टिवासीको वुनियादी समस्याहरूको समधानको गर्ने कुरोमा जोर दिनेछु भन्दै कुनै मतभेद बिना नै काम गरेर अघि बड्ने बताएका छन्।