
मिरिक:१ जुलाई (निसं) मणिपुर राज्यमा भयावह पैह्रोको चपेटमा परेर मरमा चियाबारी डाँडाधुरा निवासी एघार गोर्खा रेजिमेन्टको एक सय सात टीए-का ३५ वर्षीय जवान विशाल छेत्री शहिद भएको जानकारी विश्वस्त सुत्रबाट थाहा लागेको छ। उनको शरिर आज विहान मात्र उद्धार गरिएको पनि थप जानकारी प्राप्त भएको छ। शहिद छेत्रीले आफूपछि पिता लालबहादुर छेत्री, माता देविशरा छेत्री, पत्नी करिश्मा राई(छेत्री) अनि सात वर्षीय छोरा कबीर छेत्री,ठूली आमा कुशुम छेत्री, दाजु केशव छेत्री अनि निश्चल छेत्रीलाई छाडेर गएका छन्। उनको निधनको खबरले हाल क्षेत्रमा शोकको लहर छाएको छ। यता पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा स्थानीय यवन राईले भने, विशाल छेत्री वेपत्ता भएको खबर आए तापनि आज विहान आठ बजेतिर मात्र युनिटबाट उनको शव फेला परेको जानकारी गराइयो। आज नै मृत शरिरलाई ईम्फाल लगेर पोस्ट मार्टम गर्ने खबर गरेको बताउदै आज बेलुकीसम्म घर ल्याइ पुर्याउने जानकारी पनि प्राप्त हुने आशा साँचेका छौ भने। अर्कोतिर स्थानीय समाससेवी दुर्गाप्रसाद छेत्रीले विशाल छेत्रीको निधनको खबरले सम्पूर्ण गाउँ नै शोकमा डुबेको बताए। यो दु:खद घटनाले हामी अति नै मर्माहत बनेका छौ भन्दै विशाल छेत्री गाउँमा एक ईमान्दार र सानै उमेरमा केही राम्रा कार्यहरू गरौ भन्ने विचारधारा रहेको व्यक्ति रहेको बताए। जवान विशाल छेत्रीको निधनमा २४ नम्बर थर्बु डुप्टिन समष्टिबाट भर्खरै मात्र सभासदको चुनाउमा जीत हासिल गरेका मिलेश राईले गहिरो शोक प्रकट गरेका छन्। उनले देशको निम्ति आफ्नो कर्तव्य पालन गर्दा गर्दै मृत्यु वरण गर्न परेको यसमा हामी सम्पूर्ण मरमा अनि मिरिकवासी नै मर्माहत छौ भने। यस्तो स्थितिमा आफू सधै पीडित परिवारको पक्षमा रहेको राईले बताएका छन्।