
चुङथुङ: लोवर चुङथुङ उच्च विद्यालयको तत्वावधानमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लिएर एक म्याराथन प्रतियोगिता आयोजन गरियो। पुलबजार ब्रीजदेखि स्कूलसम्म लगभग आठ किलो मिटरको दुरीमा शुरू गरिएको यस म्याराथन प्रतियोगितामा जम्मा 12 वटा स्कुलहरुले अंशग्रहण गरेका थिए भने एक प्रोत्साहनको रूपमा चर्चित व्यक्तित्व प्रिमुस भुटियाले पनि भाग लिएका
थिए। यसदिन छात्राहरुमा रेखा लामा डाक्टर राधा कृष्णन् उच्चतर माध्यमिक विद्यालय प्रथम, निकिता राई डाक्टर राधा कृष्णन उच्चतर माध्यमिक विद्यालय दोश्रो, अञ्जना राई सप्तर्षि अंग्रेजी स्कुल तेस्रो भए भने छात्रहरुमा निश्चल छेत्री, कैंजले उच्च विद्यालय प्रथम, अजय गुरुङ रेलिङ उच्चतर माध्यमिक विद्यालय दोश्रो, रिन्छेन शेर्पा रेलिङ उच्चतर माध्यमिक विद्यालय तेस्रो भए। यसदिन प्रमुख अतिथी एस के मोक्तानले विद्यार्थीहरुलाई लिएर लोवर उच्च विद्यालयले जुन म्याराथन प्रतियोगिता राख्यो यो विद्यार्थीहरुको लागि अति नै प्रोत्साहन र शिक्षाको विषय रहेको बताए। अहिले हाम्रा विद्यार्थी नानीहरू खेलकुद र विभिन्न खेलहरूमा पछौटे हुँदै गईरहेको अवगत गराउँदै यस्तो खेलकुदहरूले विद्यार्थीहरुलाई ठूलो प्रोत्साहन हुने बताए। यसरी नै आजका विशिष्ट अतिथी प्रिमुस भुटियाले स्वतन्त्र दिवस विषय लिएर म्याराथन कार्यक्रम आयोजन गरेको सराहना गरे। विद्यार्थीहरुलाई उनले असल नागरिक हुने सुझावहरू दिँदै जीवन अत्यन्त मूल्यवान कुरा रहेको बताए। जीवनमा सबै कुरा फर्काएर ल्याउनु सकिन्छ तर समय र जीवन फर्काएर ल्याउन नसक्ने जनाए। सञ्जय गुरुङद्वारा संचालित कार्यक्रममा सभापति उदय घिसिङ , प्रमुख अतिथी एस के तामाङ र विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु उपस्थिति थियोे।