
वाराणसी, २८ जुलाई (निस)।
श्रीकाशी नागरी नाटक मण्डली, वाराणसीमा स्वतन्त्रताको अमृत महोत्सवअन्तर्गत २२औँ भारत रङ्ग महोत्सव, २६-३० जुलाई २०२२-मध्ये २८ जुलाईका दिन सिक्किम रङ्गमण्डलद्वारा प्रस्तुत नेपाली नाटक ‘कालो भारी’ भव्य रूपले प्रदर्शित हुँदा बहुप्रशंसित बन्यो । कलाले भाषाको सीमा नाघेर भावको भवमा पुऱ्याएको थियो ।
उपन्यासकार शङ्करदेव ढकालको उपन्यास ‘कालो भारी’-को कथाबाट भाव ग्रहण गरीकन यो नाटक नव दिल्लीको राष्ट्रिय नाटक विद्यालयका अध्यापक असिफ अलीले हिन्दीमा लेखेका थिए भने नेपालीमा नाट्यशिल्पी सी के श्रेष्ठले अनुवाद गरेका थिए ।
राष्ट्रीय नाटक विद्यालय (एनएसडी)-बाट गान्तोकमा पद स्थापन भएका र नेपाली भाषा पनि सिकेका नाट्यनिदेशक विपिन कुमारको अनुभवी निदेशले नवपिँढीको प्रतीक तरुण भरत काशी हिन्दू विश्वविद्यालय पढ्नाले क्रान्तिचेतना प्राप्त गरेको दृश्य संलग्न गरेर दर्शक मनलाई मोहक बनाइदिएको थियो । मूल पात्र साइँला-साइँलीको छोरोले गर्भवती बुहारीलाई गोड़ामा तेल दलिदिएको दृश्यले मातृसत्तात्मक हिमाली समाजको बिम्ब प्रस्तुत भएको थियो – गाङ्गेय क्षेत्रको पितृसत्तात्मक समाजमा हुर्केका सामाजिक त्यो देखेर चकित बने । दिवङ्गत भइसकेका अत्याचार पीड़ित पूर्वजहरू प्रेतयोनिमा बाँचेका; सेता-सेता बराजु, बाजे, बाबुहरूले पराभौतिक संसारमा सेता-सेता बराजुनी, बोजु, आमाहरूलाई बोकिबोकी स्याहार्दै कालो भारी र झार्लाङ्गी प्रथाको स्थिति र क्रान्ति हेरिरहेका दृश्य पनि थियो । सम्वाददाताहरूसित भएको कुराकानीमा नाटकमा प्रेक्षकका रूपमा पुगेका काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागका आचार्य तथा अध्यक्ष दिवाकर प्रधानले सेतो फुल्नु बिगतका दीर्घकालीन अनुभवको प्रतीक हो भने । उनले कालो भारी र झार्लाङ्गीलाई अमानवीय प्रथा भएको र यस विरुद्ध सिक्किमे जनताले लामो प्रताड़ना भोग्नुपरेको यथार्थ यस नाटकमा व्यञ्जित भएको बताए । तत्कालीन अवस्थामा व्याप्त नारी सशक्तीकरणको अभ्यासले तिनै नारी पात्रा स्वतन्त्र नवचेतनाकी उद्घोषिका बनेको अवस्थामा नाटक अन्त्य भएको घटनालाई प्रो. प्रधानले नाटक आशावादमा आधारित रहेको ठहर गरे । उनले यो नाटक विश्वका कुनै पनि ठाउँमा सम्प्रेष्य हुनसक्नाले देश-विदेशमा प्रदर्शित हुनपर्ने हो पनि भने ।
सिक्किमे रङ्गशिल्पीहरूको अभिनयले सामाजिकमा अतीव रस सञ्चार गरायो । सिक्किमको इतिहास बोकेको नाटक ‘कालो भारी’-का यावत् सम्भाषण नेपाली भाषामा भए तापनि रसिकजनले सहज भाव ग्रहण गर्नसके अनि रससिक्त भए । उत्कृष्ट अनुक्रियाले गर्दा भाषाभन्दा भाव सहज बोध्यगम्य बनेको थियो । प्रेक्षकले मुख्यार्थसहित प्रतीयमान अर्थ पनि बुझिदिनाले मिनटौँसम्म करतलध्वनिले प्रशस्ति गरे ।
नाट्योत्तर अवधिमा निदेशक विपिन मञ्चमा पुगी निदेशनविषयक आत्मस्वीकृति व्यक्त गर्दै आफू सिक्किमका थुप्रै अभेक ठाउँसम्म पुगी इतिहासका साक्षी वयोवृद्धजन भेटी अन्तर्वार्ता लिई उहाँहरूका अनुभव नाटकमा साझा गरिएको कुरा अभिभाषणमा भने ।
स्मरण रहोस् – आधुनिक हिन्दी साहित्यका प्रारम्भपुरुष भारतेन्दु हरिश्चन्द्रको निधनपछि उनका रङ्गकर्मी भतिजाहरूले १९०२-मा काशी नागरी नाटक मण्डली स्थापना गरेका थिए । काशीको कबीर चौराहमा भएको नाटक मण्डली रङ्गशालामा ‘कालो भारी’ मञ्चन भएको थियो ।