
गान्तोक,24 जुन। पूर्व सिक्किमको कुपुप थाना अधिनस्थ जलुङको 52 टर्निङको गनेक नजिक भारतीय सेनाको वाहन दुर्घटना हुँदा दुइजना जवानको घटनास्थलमै मृत्यु भएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार घटना हिज विहिबार साँझ साढे पाँचदेखि छ बजी बीच भएको हो। दूर्घटनामा परेका सेनाका जवान सिक्किम स्काउट को राइफलम्यान मनोज छेत्री दक्षिण सिक्किमको याङयाङ कारोङथाङ गाउँ निवास हुन भने नायक सुवेदार सोम बहादुर सुब्बा जोरबङ्गला सुकेपोखरी ब्लकको रामभाङ गोपालधारा ग्राम पञ्चायत अन्तर्गत टिफिन डाँडाको निवासी रहेका छन्। दुर्घटनास्थलबाट मृतदेह उद्दार गरेर गान्तोकको एसटीएनएम अस्पतालमा पोस्टमर्टम पछि परिवारलाई सुम्पिने प्रक्रिया शुरु गरिएको छ। प्राप्त जानकारी अनुसार वाहन सेनाका भरियाहरूलाई लिन जलुक ट्रान्सिट क्याम्पबाट 52 टर्निङतर्फ गएर फर्किने क्रममा दुर्घटना भएको हो। भरियाहरू वाहन ढिलो हुँदा चोरबाटो लागेपछि दुइजना जवान मात्र वाहनमा थिए। सड़कबाट तीनवटा टर्निङमुनि हुँदै वाहन खोलामा पसेको छ। सड़कदेखि लगभग 3 सय मिटर तल झरेको बताइएको छ। वर्खाको मौसम भएको कारण कुहिरोले धेरै अध्यारो भएको कारण दुर्घटना भएको हुनसक्ने स्थानीयहरूले मन्तव्य व्यक्त गरेका छन्। मृत दुवै सेनाका जवानलाई गान्तोकको लिविङस्थित 17औं पार्वतीय खण्ड मुख्यालयमा श्रद्धाञ्जलि कार्यक्रम गरेर सेनाले सम्मान जनायो ।