
गान्तोक, 20 जून। दूरसञ्चार विभाग (डीओटी) सिक्किम एकाइ, पश्चिम बङ्गाल सेवा क्षेत्र (एलएसए) द्वारा 20 जूनको दिन आजादीको अमृत उत्सवको अंशको रूपमा “विद्युत-चुम्बकीय विकरणबारे मिथक” विषयमाथि सङ्गोष्ठी आयोजन गरियो। सङ्गोष्ठी “विद्युत-चुम्बकीय विकरणबारे” भ्रम निवारण गर्नका साथै विश्वसनीय वैज्ञानिकतम प्रमाण प्रस्तुत गरी नागरिकहरूका डरलाई सम्बोधित गर्ने उद्देश्यका साथ विभाग लोकसम्पर्क कार्यक्रम अनुरूप आयोजन गरिएको थियो।
कार्यक्रमको शुरुवातमा डीओटी सिक्किमका निर्देशकले सबै प्रतिनिधिलाई स्वागत जनाए। डब्लुबीएलएसए, कोलकाताका वरिष्ठ डीडीजी राकेशकुमार शर्माले अनलाइन माध्यमद्वारा सङ्गोष्ठीको उद्घाटन गरे। भारतले अन्तरराष्ट्रिय अभिकरण जस्तै गैर आयनित विकिरण सुरक्षामाथि अन्तरराष्ट्रिय आयोग (आइसीएनआइआरपी) द्वारा निर्धारित सीमाको दस भागमा एक भाग बराबरको विकिरण नियम भारतले पालन गर्ने जानकारी दिए। यसका साथै सबै दूरसञ्चार सेवा प्रदाताले सरकारद्वारा तय नियम पालन गरिरहेको सुनिश्चित गर्न दूसञ्चार विभागले नियमित रूपमा जाँचबुझ पनि गर्ने गरेको उनले आफ्नो सम्बोधनमा बताए। यसका अतिरिक्त मोबाइल प्रयोगकर्ताहरूलाई विकिरणको स्तर जाँच्ने र नाप्ने सुविधा पनि प्रदान गरिएको उनले बताए।
यस अवसरमा सिक्किम सरकारको ग्रामीण विभागका प्रधान सचिव सीएस राव मुख्य अतिथि रहेका थिए। आफ्नो सम्बोधनमा उनले डीओटी र टीएसपीको प्रयासको सराहना गर्दै विकिरणबारे सामान्य मिथक अनि भ्रमबारे चर्चा गरे। प्राकृतिक अनि मानवजनित विकिरणका साथमा त्यसको सबै ठाउँ उपस्थितिबारे पनि उनले प्रकाश पारे। विकिरणले मानव स्वास्थ्यमा नराम्रो असर गर्नेबारे समाजको भ्रम निवारण गर्न समुचित रूपमा जागरूकता फैलाउन आवश्यक रहेको र यस प्रकारको सङ्गोष्ठीले ती भ्रम अनि डर निवारण गर्नसक्ने आशा व्यक्त गरे। यसका साथै सबै वितरण सञ्जाल कम्पनीले निजी पक्षसँग गर्ने सम्झौता डीओटीको मानक र दिशानिर्देश अनुरूप पालन गर्दै सिक्किममा दूरसञ्चार प्रयोगकर्ताको हितमा टावर साझा गर्ने संस्कृति बसाल्नुपर्ने बताए।
केन्द्रिय स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सल्लाहकार तथा पेशागत एवं पर्यावरणीय स्वास्थ्य केन्द्रका ओईएम डा. तुषारकान्त जोशीले मोबाइलको टावरबाट उत्सर्जन हुने विकिरणबारे स्वास्थ्य समस्यासित सम्बन्धित मिथक अनि भ्रम निवारण गरे। भारतको ईएमएफ विकिरण मानक अन्तरराष्ट्रिय आयोगका साथै विश्व स्वास्थ्य सङ्गठनद्वारा तय सीमाभन्दा दस गुणा कडा रूपमा कार्यान्वयन गरिने हुँदा यसबाट कुनै स्वास्थ्य सम्बन्धी चिन्ता नगर्न उनले नागरिकहरूलाई आह्वान जनाए। ईएमएफ सङ्केतमाथि गरिएको विस्तृत अध्ययनमा पनि मोबाइलको टावरबाट हुने विकिरणको मानव स्वास्थ्यमाथि घातक प्रभाव नपर्ने निष्कर्ष रहेको पनि उनले जानकारी दिए।
सिक्किममा दूरसञ्चार सेवाको रूपरेखा प्रस्तुत गर्दै डीओटीका डीडीजी एन मुरली कृष्णले सिक्किम राज्यमा सुदृढ एवं विशाल दूरसञ्जार सञ्जाल स्थापित गर्ने दिशामा चालिएका कदमहरू प्रकाश पारे। यसका लागि दूरसञ्चार सेवा प्रदाताहरूले अरू धेरै सङ्ख्यामा बीटीएस टावर स्थापित गरिरहेको उनले जानकारी दिए। सिक्किममा डीओटीले 200 भन्दा धेरै टावरको परीक्षण गरेको र कुनै पनि टावरले स्वीरार्य सीमा ननाघेको जानकारी दिए। यस सङ्गोष्ठीले प्रयोगकर्ताका साथै अभिकरणहरूलाई विकिरणको पृष्ठभूमि, स्वीकार्य सीमा, नियामक/ निगरानी अभिकरणको भूमिका एवं दायित्त्वबारे बुझ्न सहयोग गर्ने उनले बताए। यसका साथै मोबाइल टावरबाट उत्सर्जन हुने विकिरणबारे आम जनमानसको डर अनि भ्रम निराकरण गर्ने बताउँदै सिक्किम राज्यमा बीटीएस टावर स्थापित गर्न नागरिकहरू यसपछि खुलेर अघि आउने आशा उनले व्यक्त गरे। यसो हुँदा सेवा प्रदाताहरूलाई अरू धेरै बीटीएस टावर स्थापित गर्न धेरै सहयोग पुग्ने पनि उनले आशा व्यक्त गरे।
सङ्गोष्ठीमा सिक्किम सरकारको शहरी विकास, ग्रामीण विकास, गृह, विद्युत एवं ऊर्जा, जीएमसी, गान्तोक स्मार्ट सिटी, जिल्लापालको कार्यालयका अधिकारी तथा पञ्चायत सदस्यहरू आदिले सहभागिता जनाए। यसका साथै केन्द्र सरकारका जीएसआइ, एनआइसी, सीपीडब्लुडी, सीडब्लुसी जस्ता विभागका अधिकारीहरू पनि उपस्थित थिए। यसै गरी दूरसञ्चार सेवा प्रदाता, सीओएआइ अनि अन्यले पनि सङ्गोष्ठीमा भाग लिए। सङ्गोष्ठीको अन्त्य धन्यवाद ज्ञापनसँगै भयो।
दूरसञ्चार विभाग तथा दूरसञ्चार परिचालकहरू दिशानिर्देशको अनुपालन सुनिश्चित गर्न पूर्णरूपले प्रतिबद्ध छ। यी दिशानिर्देशहरू ईएमएफबारे नागरिकहरूका चिन्तालाई सम्बोधित गर्ने उद्देश्यका साथ तयार गरिएका छन् र प्यारा नागरिकहरूको सुरक्षाको निम्ति सुदृढताका साथ पालन गरिन्छ। (पीआइबी)