
वन झाँक्री फल्सको पर्यटन पुर्वाधार सञ्चालन विवाद समाधान हुने छाँट देखिएको छैन्। राज्यको पर्यटन विभागले खुल्ला टेण्डर नगरी यसको सञ्चालन जिम्मेवारी एक व्यक्तिलाई दिएको तथा लिज रकम पनि पूर्वाधारको उचित मुल्य भन्दा लगभग 90 प्रतिशत कम लिएको दाबी गर्दै लुइङका केही युवाले खुल्ला टेण्डर गराउनुपर्ने माग राखेका छन्। शुक्रवार गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लुइङ्का युवा पङ्कज छेत्री र लोअर सिच्छेका प्रशान्त राईले सिक्किम पर्यटन विकास निगम अथवा एसटीडीसीले झाँक्री फल्सको लिज आउटका लागि गरेको प्रक्रियाको खुलेर आलोचना गरे। वन झाँक्री फल्स सरकारको राजस्व आर्जनका लागि राम्रो पूर्वाधार भएर धनी मानिसलाई कम मुल्यमा 31 वर्षको निम्ति सञ्चालनको जिम्मेवारी दिनुको पछि एसटीडीसको के नियत छ भन्ने प्रश्न पनि उनीहरूको रहेको छ। यस कार्यकमा बेरोजगार युवालाई बेवास्था गरिएको छ भन्दै उनीहरूले खुल्ला टेण्डर भएन भने सड़कमा उत्रिने चेताउनी पनि दिएका छन्।